काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको भवन निर्माण भएको छ। सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजना अनुसार गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा भवन निर्माण भएको हो।
प्रदेश प्रहरी कार्यालयमार्फत ठेक्का लिएका निर्माण व्यवसायीले भवन बनाएर हस्तान्तरण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ३ तले भवनमा कार्यालय, ब्यारेक र थुनुवा कक्षका लागि १० कोठा छन्। दुई वटा भान्छा कोठा, शौचालय र स्नानगृह छन्। भवन बनाउन विक्रम संवत् २०७७ असोजमा शिवाको–जयलक्ष्मी जेभी बागलुङले १ करोड ८७ लाख ६२ हजार रुपैयाँमा ठेक्का लिएको थियो।
भवन निर्माणका लागि गाउँपालिकाको पहलमा मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, वीरबहादुर विश्वकर्मा र मिठू खत्रीले निःशुल्क तीन रोपनी जग्गा उपलब्ध गराएका थिए। म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ वटा चौकी तथा पोस्ट छन्।