काठमाडौं। म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने करिब छ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोत पुग्नका लागि भकुण्डे र कन्थराजथानबाट दुईतर्फी पदमार्ग निर्माण गरिएको छ। भकुण्डेदेखि खड्गभवानीकोत जोड्ने पक्की सिँढीसहितको २५० मिटर पदमार्ग निर्माण गरिएको हो।
विगत दुई वर्षयता धमाधम विकासका पूर्वाधारहरु निर्माण भइरहेका छन्। बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र खड्गभवानीकोत व्यवस्थापन समितिको संयुक्त पहलमा पदमार्ग निर्माण, प्रवेशद्वार निर्माण, घेराबार, विभिन्न देवीदेवताका मन्दिर निर्माण, टेलिकमको फोर जी टावर निर्माण लगायतका पूर्वाधारहरु निर्माण भएपछि पहिला पहिला सुनसान देखिने उक्त स्थल अहिले सबैलाई आकर्षित गर्न सफल भएको छ।
गण्डकी प्रदेशको उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३५३ सिँढीसहितको पदमार्ग निर्माण भएपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल खड्ग भवानीकोत पुग्न सहज भएको छ।