दैलेख। जिल्लाको भगवतीमाई गाउँपालिकाका सबै वडा विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्। दुई वर्षअघि गाउँपालिकाको केन्द्रमा पुर्याएको राष्ट्रिय प्रसारण लाइन गाउँपालिकाका छवटै वडामा विस्तार गरिसकिएको हो।
गाउँपालिकामा रहेका सात वडामध्ये छवटामा राष्ट्रिय प्रसारण लाइन जोडिएको र एउटा वडामा नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र दैलेखमार्फत ठेक्का भएर काम भइरहेको बताइएको छ। सामुदायिक विद्युतीकरण र गाउँपालिकाको सहलगानीमा छवटा वडा र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो।
विद्युत् विस्तारको काम सकिएसँगै उपभोक्ताको मागअनुसार ट्रान्समिटर थप्ने र मिटर जडान गर्ने बताइएको छ। भगवतीमाई गाउँपालिकामा निर्माण भएका साना जलविद्युत् आयोजना बन्द हुँदा त्यस क्षेत्रका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका थिए। अब गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार भएसँगै स्थानीय बासिन्दा खुसी भएका छन्।