काठमाडौं। रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्र रूपमा अगाडि बढाएको छ। त्रिशूली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका वडा नं १ र उत्तरगया गाउँपालिका वडा नं १ को हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको हो।
धुञ्चेको पुछार भोटेकोसीमा बाँध बाँधी नौ दशमलव सात किमी सुरूङको सहायताले मैलुङ दोभानमा पानी पुर्याई विद्युत् उत्पादन गरिने छ। रु ५५ अर्बका लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिई प्रारम्भिक अध्ययन भएको १० वर्षपछि नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनीले दुई महिनादेखि पूर्णरूपमा निर्माण अगाडि बढाएको हो।
आर्थिक स्रोत व्यवस्थापन, वातावरण तथा भौगर्भिक अवस्थाको अध्ययन, नेपाल विद्युत् प्राधिकरणसँंग विद्युत् खरिदबिक्रीको सम्झौता, बाह्य संरचनान्तर्गत आवास तथा पहुँच मार्गको निर्माणलगायत काम पूरा गरी सुरूङ निर्माणको काम अगाडि बढाइएको छ। सदरमुकाम धुञ्चे पुछार भोटेकोसीमा १०९ मिटर लम्बाइ, ३०.८ मिटर चौडाइ र २९ दशमलव ५ मिटर उचाइ भएको बाँध, ६.७ मिटर व्यास र नौ दशमलव सात किलोमिटर लम्बाइको हेडरेस सुरूङ निर्माण हुने बताइएको छ।