चितवन। भरतपुर महानगरपालिकाले ६ तलाको प्रशासनिक भवन निर्माण गर्ने भएको छ। महानगरले सुविधा सम्पन्न भवन निर्माणका लागि आइतबार बोलपत्र आह्वान गरेको हो।
महानगरले ९४ करोड ३२ लाखको लागतमा भवन निर्माणका लागि ठेक्का आह्वान गरेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । उनका अनुसार संघीय अर्थ मन्त्रालय, बागमती प्रदेस र महानगरको संयुक्त लगानीसहित स्रोत सुनिश्चित गरेपश्चात बोलपत्र आह्वान गरिएको हो ।
महानगरगरपालिकाको केन्द्रिकृत भवनबाट सहजरुपमा सेवा प्रदान हुने प्रमुख दाहालले बताइन् । ‘महानगरको प्रशासनिक भवन बिगतदेखि नै अति आवश्यक रहेको थियो। हिजो नगर पञ्चायत हुँदाको ३५–३७ वर्ष पुरानो भवनबाट कामहरु भएका थिए । महानगरपालिका भइसक्दा सोही भवनबाट अहिलेको आवश्यकता अनुरूपको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन कठिन रहेको अवस्थामा नयाँ भवनको लागि बोलपत्र आह्वान हुनु भरतपुरवासीको लागि खुसीको कुरा हो’ महानगर प्रमुख दाहालले भनिन् ।
सम्झौता भएको मितिले ३० महिनाभित्र सक्ने गरी बोलपत्र आह्वान भएको छ । ५० गाडी र २५० वटा मोटरसाइकल अट्न सक्ने अन्डरग्राउण्ड पार्किङसहित ६ तले भवन बन्ने भरतपुर महानगरले जनाएको छ । ६ तले भवनको क्षेत्रफल १४ हजार १५२ वर्गमिटर हुनेछ । भवनमा दुईवटा लिफ्ट, साँस्कृतिक हल, पुस्तकालय, अपागंमैत्री पुर्वाधारहरु बन्नेछन् । त्यस्तै प्रत्येक तलामा ज्येष्ठ नागरिक विश्राम कक्ष हुनेछ ।