काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सहरी विकास कार्यक्रम आयोजना गर्न ५० करोड बजेट विनियोजन गरिएको छ। सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई ५० लाख बजेट विनियोजन गरिएको हो ।
मन्त्रालयले सो कार्यक्रमका लागि छनोट गरिएको देशका ४४ नगरमध्ये पाँचखाल नगर पनि परेको हो । पाँचखाललाई प्राप्त पचास करोड बजेटमा ५० प्रतिशत सडक, ३० आयआर्जन र १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत रकम शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्नेछ ।
निर्धारित कार्यक्रमअन्तर्गत मन्त्रालयका प्रतिनिधि, नगर तथा विभिन्न दलका प्रतिनिधिको बैठकद्वारा योजना कार्यान्वन गर्नेबारे सहमति भएको छ । यस लगत्तै योजना सङ्कलनका लागि सरोकारवाला निकायबीच छलफल भइरहेको नगरप्रमुख महेश खरेलले बताए।
उनका अनुसार कार्य सम्पादन मूल्याङ्कनका आधारमा नगरपालिका सो कार्यक्रमका लागि छनोट भएको हो । यही फागुन पहिलो साता पाँचखाल नगरमा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरसँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड निफ्राले सिङ्गापुरको सुरबाना जुरोङ एसजे समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि एसएमइसीबीच स्मार्ट सिटी निर्माणार्थ प्रयोजनका लागि यसैसाता सम्झौता भएको हो ।