बैतडीको पुर्चौडी नगरपालिका–३ र ४ को बीचमा पर्ने धौनाखोलीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त चौकीको उद्घाटन गर्नुभएको हो।
यही अवसरमा पुर्चौडी नगरप्रमुख रणबहादुर कुँवर, बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पाल, सशस्त्र प्रहरीका प्रमुख गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर राना लगायत स्थानीय बासिन्दा लगायतको उपस्थिति थियो। सो प्रहरी चौकीको स्थापनाले उक्त क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने आशा गरिएको छ। उक्त चौकीको स्थापनाले सहज रुपमा हिड्डुल गर्न सकीने वातावरण सिर्जना हुने कुराले स्थानीय खुसी भएका छन्।
हाल उक्त चौकी प्रहरी हबल्दारको नेतृत्वमा रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षकले जानकारी दिनुभयो। स्थानीय तहसँग समन्वय गरी सुरक्षा अवस्थालाई मजबुत पार्न जनशक्ति बढीभन्दा बढी परिचालन गरिने जनाएको छ। हाल जिल्लाभरि २४ प्रहरी चौकी, दुई इलाका प्रहरी कार्यालय, सीमा प्रहरी चौकी एक र चार अस्थायी प्रहरी पोष्ट स्थापना भइसकेका छन् । उक्त चौकीको स्थापनाले यस क्षेत्रको आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने र स्थानीयको सुरक्षामा केही कमि नहुँने विश्वास गरिएको छ।