काठमाडौं। सिंहदरबारभित्र सेनाको चण्डीदल गणका लागि भवन निर्माण हुने भएको छ। ६५ करोड ९५ लाख अनुमानित लागतमा भवन निर्माण हुने भएको हो।
सोमबार सिंहदरबारमा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भवनको शिलान्याश गरेकी हुन्। भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख रहेको शहरी विकास भवन निर्माण विभागले जनाएको छ। कार्यक्रममा मन्त्री झाँक्रीले तोकिएको समयभित्र भवन निर्माण हुने विश्वास व्यक्त गरिन्।
सेनाका लागि अर्को भवन निर्माण गर्ने कामलाई पनि सुरु गर्ने उनको भनाइ छ। उनले भवन निर्माणमा ढिलाइ भए कार्यक्षमतामाथि नै प्रश्न उठ्ने भएकाले जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिइन्। उक्त भवन दुई वर्षभित्र नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।