काठमाडौं। संखुवासभाको चैनपुर नगरपालिकाले खानेपानी, सडक निर्माण र संस्कृति संरक्षणलाई आफ्नो गौरवको योजनामा समेटेको छ।
०७४ मा स्थानीय तहको निर्वाचनपछि चैनपुर नगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठक २७ असारमा बस्यो। सोही बैठकले नगरमा विद्यमान समस्यालाई केलाउने काम गर्यो भने केही नगर गौरवको आयोजना तोक्न सफल भयो। त्यतिबेलादेखि हालसम्म नगरपालिकाले नगरको गौरव बढाउने गरी खानेपानी योजना, सडक निर्माण र संस्कृति संरक्षणमा पहल गरिरहेको छ। योजना क्रमशः सफल हुँदै जाँदा जनप्रतिनिधि सन्तुष्ट छन् भने नगरबासी पनि खुसी भएका बताइएको छ।
चैनपुरको जिरोप्वाइन्टदेखि गुफापोखरीसम्मको करिब ७ किलोमिटर सडक कालोपत्रे गरिएको छ। यसले वडा नम्बर ५ र ४ नम्बरसम्म जान सहज भएको छ। नगरपालिकाले जिरो प्वाइन्टदेखि गुफा पोखरीसम्मको सडकलाई कालोपत्रे गर्ने कामलाई नगर गौरवको योजनामा राखेको छ।