अस्ट्रेलिया। गैर आवासीय नेपाली संघ अस्ट्रेलिया अन्तर्गतको नारी निकुञ्ज अस्ट्रेलियाले अस्पताल निर्माणमा सहयोग गर्ने भएको छ। दोलखा सदरमुकाम चरिकोटमा निर्माण हुन लागेको महिला तथा बालबालिका अस्पताललाई आर्थिक सहयोग गर्ने भएको हो।
यस बर्षको नारी दिवसमा आर्थिक संकलन गरेर अस्ट्रेलियन फर वुमन्स हेल्थले दोलखा सदरमुकाममा निर्माण गर्न लागेको महिला तथा बालबालिका अस्पताललाई सहयोग गर्ने बताइएको छ। महिला सहभागिता, नेतृत्व विकास साथै मातृभूमि नेपालमा रहेका महिलाहरूको स्वास्थ्य तथा आर्थिक–सामाजिक सशक्तीकरणका लागि नारी निकुञ्ज अस्ट्रेलियाले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
नारी निकुञ्जले नेपालको ग्रामीण भेगमा महिला तथा बालबालिकाका लागि अस्पताल निर्माण योजनाको सहयोगार्थ कार्यक्रम गर्दैछ। महिला स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिने नारी निकुञ्जले हालसम्म पाठेघर सम्बन्धी समस्या भएका नेपालका पाँच सयभन्दा बढी महिलालाई सहयोग गरिसकेको छ।