काठमाडौं। कर्णाली प्रदेशका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु भएको छ। कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका–७ मा ४० घर, बारेकोट गाउँपालिका–४ ,५ मा ६० घर निर्माण हुन लागेका हुन्।
कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८० घर, रास्कोट गाउँपालिका–७ मा १०० घर निर्माण हुने छन्। मुगुमा खत्याड गाउँपालिका–२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रम अन्तर्गत १८ घर, खत्याड–८ मै एकीकृत बस्ती अन्तर्गत २३ घर निर्माण गर्न लागिएको बताइएको छ।
हुम्लाको चंखेली गाउँपालिका–६ मा रातीपुरमा बस्ती विकास योजना अन्तर्गत ३३ घर, ताजाकोट गाउँपालिका–१,२,३,४ र ५ एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत ८३ घर निर्माण कार्य जारी छ। आठ जिल्लाका जोखिममा परेका ठाउँमा घर निर्माणका लागि सम्भाव्यता अध्ययन (डिपिआर) तयार भइ घर निर्माणको चरणमा गएको हो।
अघिल्लो कार्यविधिले घर निर्माणका लागि बाधा पुगेको भन्दै दोस्रो पटक संशोधन भएपछि मात्र घर निर्माणको बाटो खुलेको बताइएको छ। एकीकृत बस्तीको नाम दिएर एकै ठाउँमा घर निर्माण गर्दा जग्गा, जमिन, घर पालुवा जनावरसमेत हेरचाह गर्न सम्भव नभएपछि पीडित परिवारको तर्फबाट आलोचना भएपछि कार्यविधि संशोधन भएको हो।