गुल्मी। गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीमा विपन्न १७ परिवारका लागि घर निर्माण गरिएको छ। सालझण्डी–ढोरपाटन सडक र ०७२ सालको भूकम्पका कारण विस्थापित भएका १७ घरपरिवारका लागि घर निर्माण गरिएको हो।
विस्थापित परिवार वर्षातमा विद्यालय र त्रिपालको ओत खोज्नुपर्ने अवस्थामा थिए। स्थानीय तहको निर्वाचनपछि मदाने गाउँपालिकाले आर्थिक वर्ष ०७५र०७६ मा १५ लाख विनियोजन गरेर आफ्नै नाममा जग्गा प्राप्त गरेर एकिकृत बस्ती निर्माण काम सुरु गरेको थियो ।
गाउँपालिकाले ९९ लाख ४१ हजारको लागतमा बस्ती निर्माण गरेको छ । एकिकृत बस्तीमा निर्माण भएका घरहरु पूर्व मन्त्री तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण विष्टले लाभान्वित परिवारलाई हस्तान्तरण गरे ।
हस्तान्तरणका क्रममा विष्टले ठूलो पानी परेको बेला गाउँबाट फोनमा आफूसँग गुहार मागेको स्मरण गर्दै सामाजिक न्यायको क्षेत्रमा गाउँपालिकाले गरेको कामको प्रसंसा गरे । कोभिडको कारण समयमै बस्ती हस्तान्तरणको काम भएको थिएन् । गाउँपालिकाले जग्गा खरिदसहित दुई कोठे घर, शौचालय, निःशुल्क मिटरबक्स र धाराहरु निर्माण गरेर १७ घरलाई हस्तान्तरण गरेको गाउँपालिका प्रमुख दान बहादुर केसीले जानकारी दिए ।