हुम्ला। सर्केगाड गाउँपालिका–८ फुचास्थित नीलकण्ठ आधारभूत विद्यालयका विद्यार्थी लामो समयदेखि खुला चौरमा बसेर पढ्न बाध्य छन्। जीर्ण विद्यालय भवन भत्किने डरले विद्यार्थीहरूलाई चौरमै राखेर पढाउने गरिएको हो।
वर्षायाममा भवनका सबै कोठाहरूमा पानी चुहिन्छ। विद्यालयको भवनको भित्ता पनि कमजोर भएपछि विद्यालयमा अध्ययनरत १ सय ६४ विद्यार्थीलाई चौरमै राखेर पढाउने गरिएको प्रधानाध्यापकले बताए। गाउँका ८० घरधुरीका बालबालिकाको सहजताका लागि विद्यालय स्थापना गरिए पनि भौतिक पूर्वाधार अभावमा पठनपाठन प्रभावकारी हुन सकेको छैन। विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा ८ सम्म पढाइ सञ्चालन भइरहेको छ।
विद्यालयका ४ भवनमध्ये २ भवनको ४ वटा कोठामा मात्र पढाउन सकिने विद्यालयले जनाएको छ। विद्यालयमा खानेपानी, शौचालय, खेल सामग्रीलगायतको पनि अभाव रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारसँग पटकपटक आग्रह गरे पनि बेवास्ता भइरहेको बताइएको छ।
चौरमा बसेर पढ्दा विद्यार्थीसमेत सास्ती भोग्न बाध्य छन्। विद्यार्थीहरू वर्षाका बेला हिलोमा र हिउँदका बेला धूलोमा बसेर पढ्न बाध्य भएका छन्। अहिले चिसोका कारण बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्नेलगायत समस्या देखिन थालेको विद्यालयले जनाएको छ।