काठमाडौं। काठमाडौं महानगर वडा नं. ५ कोटाटोलमा ४६ लाख लागतमा पुननिर्माण भएको कोटा गुठीको यो २ तले भवनको उद्घाटन भएको छ। गुठी घर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं संघीय संसद सदस्य ईश्वर पोखरेल र महानगरका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
हाँडी गाउँमा बसोबास गर्ने नेवार समुदायको व्यक्तिको मृत्यु हुँदा अन्तिम संस्कार गर्ने ८ वटा च्या गुठी छन्। तीमध्ये कोटा गुठी एक हो। यस गुठीमा डंगोल र महर्जन परिवारका १६ गुठीयार रहेका छन्। हाँडीगाउँका यी गुठीहरुलाई लिच्छवीकालीन मानिन्छ। कोटा गुठीमा यमरी पुन्हीको अघिल्लो दिन विशेष पूजा गर्ने चलन रहेको छ।
उद्घाटन कार्यक्रममा बोल्दै नेता पोखरेलले, समुदायको अस्तित्व बचाउन संस्कृति बच्नु पर्ने धारणा राखेका थिए। ‘हतियारले समुदायको अस्तित्व समाप्त हुँदैन । संस्कृतिको विनाशले हुन्छ । त्यसैले समुदाय बचाउन संस्कृति बचाउनु पर्छ,’ उनले भने।
त्यस क्रममा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, महानगरभित्रका पुननिर्माण गरिएका कुनै पनि सम्पदाको मौलिकता नबिगारिएको बताए ।‘सम्पदाको मौलिकता विगार्नु हुँदैन। आवश्यकता आधारमा सुधार गर्न सकिन्छ। हामीले कार्यकालको सुरुदेखि भन्दै आएका हौ । यसै अनुसार काम पनि गर्दै आएका छौँ ’
कोटा गुठी ४६ लाख रुपैयाँ लागतमा पुननिर्माण भएको हो। यो २ तले छ। त्यस्तै वडाले मोक्ष गुठीको पुननिर्माण पनि अन्तिम चरणमा पुगेको बताएको छ।