काठमाडौं। धनुषाधाममा जडीबुटी सम्बन्धी केन्द्र र प्राणी उद्यान निर्माण गरिने भएको छ। वन तथा वातावरणमन्त्री रामसहाय यादवले धनुषाधाममा उद्यान निर्माण गरिने बताएका हुन्।
धनुषाधाममा शुक्रबार भएको वनस्पति अनुसन्धान केन्द्रको वनस्पति उद्यानको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले यस वनस्पति उद्यानलाई जडीबुटीको अध्ययनको केन्द्रको रूपमा विस्तार गर्ने बताएका हुन्।
मन्त्री यादवले मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक महत्वको धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययनको केन्द्र र प्राणी उद्यानको रूपमा विकास गर्ने बताएका छन्।
धनुषाधाममा प्राणी उद्यानको प्रबल सम्भावना रहेकोले त्यसको लागि सरकारले अध्ययन अनुसन्धानको कार्य अगाडि बढाइसकेको मन्त्री यादवले बताए । वनस्पति, वन र चुरे एकअर्कालाई जोडिरहेको भन्दै मन्त्री यादवले धनुषाधाममा प्राणी उद्यान स्थान भएको खण्डमा मधेस प्रदेशको आर्थिकका साथसाथै पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने बताए ।
वनस्पति अध्ययन तथा अनुसन्धान केन्द्र जनकपुरका निमित्त प्रमुख ताहिर हुसेनले वनस्पति केन्द्रको अवस्थाका बारेमा मन्त्री यादवलाई जानकारी गराएका छन्। जग्गा प्रर्याप्त भए पनि बजेटको अभावमा वनस्पतिले लक्ष्यअनुसारको काम गर्न नसकेको निमित्त प्रमुख हुसेनको भनाइ थियो ।