दमौली। तनहँ सदरमुकामस्थीत दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ। उक्त अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन सुरु गरीएको हो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्षका अनुसार कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुर्याउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु गरिएको हो। उहाँका अनुसार भदौँको १३ गतेबाट अक्सिजन उत्पादन सुरु गरिसकेको छ।
उक्त प्लाण्टबाट उत्पादन भएको अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान गरिएको छ। प्रत्यक शय्यामा पुग्ने गरी पाइपलाईन जडान गरिएको छ। अस्पितालमा नै अक्सिजन उत्पादन भएपछि बाहिरबाट अक्सिजन ल्याउनुपर्ने समस्याको अन्त्य भएको छ। अस्पतालका अनुसार ५५ लाखमा अक्सिजन प्लाण्ट निर्माण भएको हो। उक्त प्लाण्ट निर्माणको लागी अस्पतालले जय शङ्कर प्रालीसँग सम्झौता गरेको थियो। कोरोना सङ्क्रमितको उपचारकोलागी कोभिड कक्ष बनाएर उपचार पनि गरिएको थियो। हाल उक्त अस्पतालमा कोरोना सङ्क्रमित नभएको अस्पतालले जनाएको छ।
अस्पतालले स्वास्थ्य मन्त्रालयको सहयोगमा आइसियु र भन्टीलेटर समेत सुरु गरिसकेको छ। विगतमा सो अस्पतालमा सघन उपचार नभएको कारणले गर्दा भरतपुर वा काठमाण्डौं पुगेर स्वास्थ्य सेवा लिनुपर्दा आफुलाई दुख सँगसँगै आर्थिक भार पनि सहनु परेको स्थानीयले बताए।
अस्पताललाई व्यवस्थित एवं अत्याधुनीक बनाउन थाइराइड, आखाँ र दाँत उपचार सेवा सुरु भइसकेको छ। अस्पतालले विभिन्न सेवाहरु थप गर्दै गइरहेको छ। यही अस्पतालमा थाइराइड सेवा सुरु भएपछि सर्वसाधारणलाई यसको उपचारका लागी महँगो रकम तिरेर अन्यन्त्र जानुपर्ने समस्याको अन्त्य भएको छ। आफ्नो क्षेत्रमै सुविधा सम्पन्न अस्पतालको निर्माणले स्थानीय अब आउने दिनहरुमा उपचारको लागी टाढाँ जान नपर्ने बताउदै खुसी व्यत्त गरे।