झापा। दमक नगरपालिकामा विशेषज्ञ सेवासहितको प्रादेशिक बाल अस्पताल सञ्चालनमा आउने भएको छ। सामुदायिक अस्पतालका रूपमा सञ्चालन हुने उक्त अस्पताल वैशाखभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भएको हो।
दमक–७ स्थित नेपाल रेडक्रसको भवनमा ५० सय बेडको अस्पतालको बन्दै छ। करिब ७ कट्ठा क्षेत्रफलमा रहेको रेडक्रस सोसाइटी दमक उपशाखाले अस्पताल सञ्चालन गर्न आफ्ना भवनसहितका संरचना ३० बर्षका लागि निःशुल्क रूपमा उपलब्ध गराएको छ। काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बाल अस्पताल निर्माण गरिरहेको हो।
इन्स्टिच्युटले ५० बेडको स्वीकृति लिए पनि करिब एक सय बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याउन सक्ने गरी निर्माण कार्य अघि बढाएको बताइएको छ। मुख्यतः विपन्न वर्गका बालबालिकालाई सहज एवं निःशुल्क उपचार प्रदान गर्ने अस्पतालको उद्देश्य रहेको छ ।
अस्पताल निर्माणमा समन्वयसहितको आर्थिक सहयोग गर्ने दमक नगरपालिकाले निर्णय गरेको छ। नगरपालिकाको असारमा सम्पन्न नवौं नगरसभाले अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको बताइएको छ।
अस्पताल सञ्चालनमा आए बालबालिकाको मुटु, मृगौलालगायत दीर्घरोगदेखि अन्य किसिमका रोगको पनि उपचार सेवा प्रदान गर्ने गरी विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने कार्य भइरहेको छ।