काठमाडौं। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले निःशुल्क वितरण गर्न लागेको विद्युतीय चुलोका लागि सात हजार ५५० आवेदन परेका छन्। आवेदन दिने म्याद फागुन २५ गते सकिएको हो।
देशका दुर्गम क्षेत्रबाट आई काठमाडौँका सरकारी तथा सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीलाई यस्तो चुलो वितरण गर्न केन्द्रले फागुन ९ गतेदेखि आवेदन माग गरेको थियो।
आयातित एलपी ग्यासको खपत घटाउने र विद्युतीय चुलो प्रयोग गर्न सचेतना विस्तार गर्ने सरकारको सोचलाई कार्यान्वयन गर्न यस्तो कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ। विद्युत् खपत विस्तार हुने, ग्यास आयात घटाउने र वातावरण संरक्षणसमेतमा योगदान पुर्याउने भएकाले यस्तो प्रवद्र्धनात्मक कार्यक्रम ल्याएको बताइएको छ।
केन्द्रले उक्त कार्यक्रम सञ्चालनका लागि ‘स्वच्छ ऊर्जाको माध्यमबाट खाना पकाउने गुइँठा कृषिजन्य अवशेषको प्रतिस्थापन र ऊर्जा नपुगेको क्षेत्रमा स्वच्छ ऊर्जा पुर्याउने कार्यक्रमको बाँकी बजेटबाट विद्यार्थीलाई इन्डक्सन चुलो दिन लागेको हो।