काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको मतदान सम्पन्न भइ मतगणना शुरु भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजेदेखि शुरु भएकोे मतदान ३ बजे सम्पन्न भइ मतगणना भर्खरै शुरु भएको हो।
आज नै मतगणना सम्पन्न गरि सार्वजनिक गर्ने तालिका रहेको छ। महासंघको नयाँ कार्यसमिति एवं सदस्यहरुको चयनका लागि आज मतदान भएको थियो। महासंघको २३ औं साधारणसभा एवं १२ औं अधिवेशन शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी शुरु गरिएको थियो। मतदानका लागि देशभरबाट मतदाता प्रतिनिधि शुक्रबार नै काठमाडौं आएका थिए।
मतपरिणाम सार्वजनिक भएसँगै भोलि (सोमबार) निर्वाचित कार्यसमिति एवं सदस्यहरुको सपथ ग्रहण कार्यक्रम गरिने छ।
महासंघको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रवि सिंह, वर्तमान महासचिव निकोलस पाण्डे र हुमनाथ कोइराला उमेदवार छन्। सिंह र पाण्डेले प्यानल नै घोषणा गरेका छन्। प्रतिनिधि मतदाताहरुको माहोल हेर्दा मुख्य प्रतिस्पर्धामा सिंह र पाण्डे नै रहेको देखिएको छ।