काठमाडौं। सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ। आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको छ।
सांसदका लागि शहरी विकास मन्त्रालयअन्र्तगत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले भक्तपुरको सानोठिमीमा रहेको नेपाल राष्ट्र बैंकको करिब ७६ रोपनी जग्गामा संयुक्त आवास निर्माणको प्रस्ताव गरेको छ। आयोजनाले धेरै भवन निर्माण गर्दा खर्च धेरै लाग्ने भएकाले चारवटा अपार्टमेन्ट निर्माणको अवधारणा अघि सारेको हो।
सांसद आवासका लागि प्रारम्भिक डिजानको काम सम्पन्न गरेर स्वीकृतिको लागि मन्त्रालयमा पठाइएको बताइएको छ। हाल प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ६० जना गरी ३ सय ३५ जना संघीय सांसद रहेका छन्। आवासमा सभा हल, हरियाली पार्कसहितका आधारभूत सेवा सुविधा रहने गरी डिजाइन गरिएको छ।