काठमाडौं। पाल्पाको रिब्दीकोट गाउँपालिका–८ फेकमा एकतले सुविधासम्पन्न वडा भवन निर्माण भएको छ। रु ४८ लाख लागतमा वडा भवन निर्माण भएको हो।
भवन निर्माण सम्पन्न भएपछि कार्यसम्पादन तथा सेवा प्रवाहमा सहजता भएको जनाइएको छ। यस अगाडि सो वडा कार्यालयले कर्कटपाताको छानामुनि रही तीन कोठा रहेको जीर्ण भवनबाट सेवा प्रदान गर्दै आएको थियो। तीन कोठामध्ये एक कोठा हुलाकलाई उपलब्ध गराइएको, एक कोठा भण्डारणका लागि छुट्याएको र एक कोठामा कार्यकक्ष रहेको थियो।
नयाँ भवनले नागरिकका काम छिटोछरितोरूपमा सम्पादन गर्न सहजता ल्याउने ल्याउने विश्वास गरिएको छ। वर्षायाम तथा हावाहुरीका समयमा जोखिम रहेकाले नयाँ पक्की भवन निर्माण गरिएको बताइएको छ।
सबै वडामा सुविधासम्पन्न भवन निर्माण गरी नागरिकका कामलाई व्यवस्थित गर्न थालिएको हो। मोटरबाटो, स्वास्थचौकी भवन, वडा भवन निर्माण गरी जनताको जीवनस्तर सुधार्न पहल गरिएको बताइएको छ।