काठमाडौं। बैतडीको सुर्नया गाउँपालिका– २ सिउडेमा शीत भण्डार भवन निर्माण कार्य शुरू भएको छ। संघीय सरकारको विशेष अनुदानअन्तर्गत शीत भण्डार भवन निर्माण कार्य शुरू भएको हो।
उक्त शीत भण्डारको प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, प्रदेश सांसद लिलाधर भट्ट र उपाध्यक्ष लीला विष्टले संयुक्त रूपमा शिलान्यास गरेका छन्।
शीत भण्डार भवन निर्माणका लागि श्री पातालभुमेश्वर नारी एकता बहुउद्देश्यीय कृषि सहकारी संस्थासँग भवन निर्माणका लागि सम्झौता भएको छ। सरकारको ४८ लाख लगानी र स्थानीयको ६ लाख बराबरको जनश्रमदान गरी ५४ लाखमा शीत भण्डार भवन निर्माण सम्पन्न हुने जनाइएको छ।
किसानहरूले स्थानीयस्तरमा उत्पादन गरेका कृषिजन्य उपजहरूलाई भण्डारणका लागि सहज होस् भनेर शीत भण्डार निर्माण कार्य शुरू गरिएको सुर्नया गाउँपालिकाले जनाएको छ।
उक्त शीत भण्डार भवन निर्माण भएपछि स्थानीयहरुलाई कृषी उपज संकलन तथा भण्डारणका लागि सहज हुने आशा राखिएको छ। शीत भण्डार भवन निर्माणका लागि जग्गादाता स्थानीय गोमती चन्दको परिवारलाई सम्मानसमेत गरिएको छ।