स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँडले स्मार्ट सिटीका लागि सरकारले एक पैसा पनि नदिएको बताएका छन्।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा कुरा गर्दै मेयर खाँडले भने २४ अर्ब दिने भनेकोमा हालसम्म सरकारले एक पैसा पनि नदिएको बताएका हुन्।
उनले भने, “स्मार्ट सिटीको पूर्वाधार, कनेक्टिभी, सुशासन लगायतका कामका लागि २४ अर्ब रुपियाँ आवश्यक पर्छ । वार्षिक १ अर्ब दिएर सुरु गर्ने भनेको सरकारले ५ वर्षमा एक रुपैयाँ पनि दिएन । स्मार्ट सिटी बजेटमा आयो, व्यवहारमा आएन।”
उनले स्मार्ट सिटीका लागि ५ वर्षमा डेढ अर्ब पनि विकास खर्च गर्न नसकेको बताए । खाँडले स्मार्ट सिटीको बजेट रोकिएकाले सडक ग्राभेल र पिच सडक गर्ने योजनाअनुसार अघि बढाउन नसकेको बताएका छन्। नगरपालिकाको अत्यन्त सीमित स्रोत, साधन प्रयोग गरेर पूर्वाधार, सिँचाइ, खानेपानीका योजना सम्पन्न गरेको उनको दाबी छ।
उनले आफ्नो नगरपालिकाको दुई सय वटा टोलमा २० वर्षे योजना शुरु गरेको जानकारी समेत दिएका छन्।