काठमाडौं। देशकै दोस्रो ठूलो सबस्टेशन न्यूखिम्ती सबस्टेशन सञ्चालनमा आएको छ। दोस्रो ठूलो सबस्टेशन आगामी शनिबार उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेशनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ। सोही सबस्टेशन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौँ जोडिएको छ । सबस्टेशनमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । सो सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ ।
ढल्केबरपछिको यो दोसो ठूलो सबस्टेशन भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेशन सञ्चालनमा छन् । न्यूखिम्ती सबस्टेशनका इलेक्ट्रिकल इञ्जीनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटनको कार्यक्रमको तयारी पूरा भएको छ । विसं २०७५ देखि निर्माण सुरु भएको सो सबस्टेशन गत असारमा निर्माण सम्पन्न भएको हो । सुरुआती लागत एक अर्ब ५० करोड बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना त्रासलगायतका अन्य कारणले गर्दा थप केही ‘भेरियसन’ भएको छ ।
नयाँखिम्ती सबस्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । यस्तै ५२.४ मेगावाट क्षमताको लिखु दोस्रो र २४.१ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ । यस्तै गज्र्याङ हाइड्रोपावर, खिम्ती–२ को बिजुलीसमेत सोही सबस्टेशनमा जोडिनेछ । हालको क्षमताअनुसार सो सबस्टशेनमा कूल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने फोरम्यान सिभिल विश्वासकुमार भण्डारीले जानकारी दिए ।
रामेछाप, दोलखालगायतका जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेशन प्राधिकरणको भाषामा हब सबस्टेशनका रूपमा विकास हुनेछ । गत साउनको अन्तिम साता सो सबस्टेशन चार्ज गरिएको थियो ।