काठमाडौं। भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले बिहीबार अस्पताल भवनको संयुक्त रुपमा उद्घाटन गरेका छन्।
रु दुई करोड २६ लाखको लागतमा निर्माण गरिएको अस्पतालले भोजपुर र आसपासका अन्य जिल्लाका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच प्रदान गर्ने बताईएको छ।
१५ शै्यया क्षमताको अस्पतालमा जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न प्रसूति कक्ष, २४ घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुकका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था छ।