काठमाडौं। मुसहर परिवारको २५ घर निर्माणको लागि कोष बनाइदैँ छ। नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री गिरीराजमणि पोखरेलले महोत्तरी भंगहाका २५ परिवार दलित सुकुम्बासीको लागि आवासको व्यवस्था गर्ने घोषणा गरेका हुन्।
होली पर्वको अवसरमा भंगाह नगरपालिका ३ मा बिहीबार आयोजित कार्यक्रममा नेता पोखरेलले स्थानीय भूमिहिन मुसहर परिवारको २५ घर निर्माणको लागि कोष खडा गर्ने उद्घोष गरेका छन्।
२५ परिवारको लागि घडेरी व्यवस्थापन र घर निर्माणको लागि कोष खडा गर्न लागिएको पोखरेलले बताए। त्यसको लागि उनले एक महिनाको तलबसमेत प्रदान गरेका छन्।
मुसहर टोलमा रामराजी सदासहित २५ सुकुम्बासी परिवारको बसोबास छ। उनीहरुको नाममा जग्गा जमिन छैन। मुसहर समुदायको बसोबास रहेको जमिन जग्गाधनीले अन्यलाई बेचेपछि २५ दलित परिवारको बिचल्ली हुने अवस्था सिर्जना भएको बताइएको छ।