काठमाडौं। सूचना प्रविधिको प्रयोग र बैंकिङ प्रणालीको प्रयोग गरेर करिव साढे २ खर्ब रुपैयाँ भुकम्पले क्षति पुर्याएको घरहरु पुनःनिर्माणको लागि जनतासमक्ष पुर्याएको कुरा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुखले जनाएका छन्। गत सोमवार सिंहदरवारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा उनले भूकम्पपछि पुनःनिर्माण गरिएका मध्ये ९२ प्रतिशत घरहरु सुरक्षित रहेको बताएका छन्।
त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखले पुनःनिर्माण प्राधिकरणले गरेका विशिष्ठ अनुभवबाट नेपाललाई १० वर्षमा कसरी रिकभरीबाट सुरक्षित नेपाल बनाउन सकिन्छ भन्ने कुराको १० वर्षे महाअभियान बनाउन जरुरी रहेको साथै उक्त कार्यको लागि गुरुयोजना नै बनाएर लागेको बताएका छन्।
बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले संयोजनको पाटो फितलो रहेको र केही कानूनहरु पनि परिमार्जन गर्न आवश्यक भएको बताउँदै सम्पदा निर्माणको कुरा टेण्डरबाट गर्न नसकिने भएकोले आर्थिक कुराहरूको कानुनका लागि पहल गर्नुपर्ने जनाएका छन्।
मान्छे विना सम्पदा नबच्ने भएको कारणले गर्दा मान्छेलाई सबैभन्दा पहिले बचाएर सम्पदाको जगेर्ना गर्न आवश्यक रहेको छ। किनभने सम्पदा नभइ अन्तर्राष्ट्रिय स्तरहरुबाट पर्यटकहरु नआउने भएकोले संयोजनको भूमिका राम्रोसँग निभाउन आवश्यक रहेको छ। भूकम्पपछिको पुनर्निर्माणको कामलाई नेपाल सरकारले पहिलो प्राथमिकतामा राखेको छ। त्यस्तै प्राधिकरणले काम गर्दा पनि आवश्यक बजेट मन्त्रालयले उपलब्ध गराएको र अबका दिनमा पनि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले करिव ४ अर्ब ६९ करोडको काम सम्पन्न गरी हस्तान्तरण गरीसकेको जनाएको छ।