काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले आउँदो स्थानीय निर्वाचन विकास निर्माणका लागि महत्वपूर्ण अवसर भएको बताएका छन्।
शनिबार रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्व र विकास निर्माणको लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसर भएकोमा जोड दिएका हुन्। उनले उक्त ठाउँको खानेपानी समस्या समाधान, पर्यटन विकासलगायतका क्षेत्रमा सङ्घीय सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास पनी दिलाए।
मुस्कानसहितको प्रहरी, सम्मानसहितको प्रहरी सरकारको अभियान रहेको बताउँदै मन्त्री खाँणले राष्ट्रसेवक सबै कर्मचारीले बफादार भएर आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिए। इलाका प्रहरी कार्यालयको स्तरवृद्धि गरी क्षमता पनि विस्तार गरिने पनी सोही अवसरमा उनले जानकारी दिए।
कूल पाँच करोड ८७ लाख ३७ हजार ४९५ को लागतमा सो चारतले भवन निर्माण भएको हो। यस नगरपालिकाबाट आफ्नै आन्तरिक स्रोतको रकम विनियोजन गरी प्रशासनिक भवन निर्माण गरिएको छ।
भवन निर्माण सम्पन्न भएपछि हाल यसै भवनबाट सेवा प्रवाह भइरहेको छ। आयुर्वेद शाखा र पशु शाखाको आफ्नै भवन भएकाले सोबाहेक सबै शाखा यहीँ भवनबाट सञ्चालन भएको छ।