ताप्लेजुङ। जिल्लाको सिमाना क्षेत्रमा भारतको अनुदानमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ। ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो।
नवनिर्मित भवनको एमाले सांसद योगेश भट्टराई, पूर्व सभासद भुपेन्द्र थेवे र भारतीय दूतावासका प्रथम सचिव रोहित मिश्राले एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गरेका छन्।
‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा ३ करोड १० लाख लागतमा उक्त दुई तले भवन निर्माण गरिएको भारतीय दूतावासले जनाएको छ। ‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहु क्षेत्रीय सहकार्य रहेको छ। यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ’ दूतावासले प्रेस विज्ञप्तिमा भनेको छ।
सन् १९५० मा स्थापित उक्त विद्यालयमा हाल १६०० जना विद्यार्थी अध्ययनरत छन्। सन् २००३ यता भारतीय सहयोगमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन्। ती मध्ये ताप्लेजुङ्गका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन्।