काठमाण्डौं। सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन्। उक्त भवनको देउवाले हिजो शिलान्यास गरेका हुन्।
भवनको शिलान्यास गर्दै उनले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताएकाछन। सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने उनले बताए।
प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्दछ भने। उनले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै यहाँको पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए।
चार बिघा एक कट्ठा जग्गा क्षेत्रफलमा २७ करोडको लागतमा सो प्रशासनिक कार्यालय भवन निर्माण हुने बताइएको छ।