काठमाडौं। नुवाकोटको बेलकोटगढी नगरपालिकाको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सरकारी जग्गा नगरपालिकाको नाममा ल्याउन कानुनी प्रक्रियाको कारण नयाँ भवन निर्माण लक्ष्यभन्दा ढिलो हुन पुगेको हो।
डिपिआरको काम सक्नासाथ ठेक्का लगाउन बजेट व्यवस्थापनमा नगरपालिका लागिपरेको छ। डिपिआर बमोजिम बनाउन सकेसम्म आसन्न स्थानीयतहको निर्वाचन अघि ठेक्का सम्झौता गरेर शिलान्यासको तयारी भएको बताइएको छ।
बाघखोरमा सरकारी जग्गामध्ये नगरपालिकालाई आवश्यक २४ रोपनी जग्गा प्राप्त गर्न जिल्लास्थित विभिन्न निकायको सिफारिससहित मन्त्रिपरिषद्बाद स्वीकृत गराउन तीन वर्ष लाग्यो। नगरपालिकाको कार्यालय विपद्को कारण जोखिममा परेका बासिन्दालाई पुनःस्थापनार्थ बनाइएको प्रिफ्याक भवनबाट चलिरहेको छ।
नयाँ भवन निर्माण चाँडो सुरु गर्न लागिएको बताइएको छ। भवन बनाउन नगरपालिकाले बहुवर्षीय ठेक्कामार्फत काम सुरु गर्न यो आर्थिक वर्षमा २ करोड ५० लाख बजेट छुट्याएको छ। भवन बनाउन संघीय मन्त्रालयले ५० प्रतिशत बजेट उपलब्ध गराउने जनाएकाले बाँकी नगरपालिकाले व्यवस्थापन गरेर ठेक्काको तयारीमा रहेको नगरपालिकाले जनाएको छ।