म्याग्दी। बेनी नगरपालिका–४ सिंगामा तातोपानी कुण्डलाई प्रयोग गरेर प्राकुतिक चिकित्सालय सञ्चालनको तयारी थालीएको छ। प्राकृतिक तातोपानीलाई प्रयोग गरेर योगाथेरापी, फिजियोथेरापी, मसाज थेरापी, जलचिकित्सा, अकुपञ्चर र डाइथेरापी विधिबाट बिरामीको उपचार गर्न सम्भव रहेको कारणले गर्दा तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक चिकित्सालय सञ्चालन गर्न लागेको हो।
तातोपानी कुण्डलाई अझ व्यवस्थीत बनाउँदै चिकित्सकले तातोपानी प्रयोग गरेर रोग निको बनाउने प्राकृतिक विधिको प्रयोग गर्नको लागि प्राकृतिक अस्पताल निर्माण गर्न लागिएको हो। यस्तो अस्पताल नेपालमै पहिलो हो। संङघीय सरकारको ५० लाख र कुण्डको आन्तरीक आम्दानी ५० लाख गरी १ करोड रुपैँया लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधारहरु निर्माण गरिएको छ। गत वर्षमा गण्डकी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयलाई उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयको लागि आवश्यक पर्ने थेरापीका उपकरणहरु खरिद गरिएको थियो।
अकुपञ्चर, योगाहल, फिजियोथेरापीका लागि ५ वटा बेड र मसाज थेरापीको लागि पनि पूर्वाधार निर्माण भइसकेको छ। चिकित्सालयमा आन्तरीक आम्दानीबाट तलब दिने गरेर १ जना चिकित्सक पनि राखिएको छ। दशैं लगत्तै निर्माण कार्य सकि सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याई बिरामीको उपचार पनि थाल्ने तयारी रहेको छ। चिकित्सालयको लागि १५ देखि २० जना जनशक्ति आवश्यक पर्ने कुरा समितिले जनाएको छ।