लमजुङ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि राजनीति गर्न नहुने बताएका छन् । देश विकासको सवालमा जनतादेखि राजनीतिक दल, स्थानीय सरकारदेखि संघीय सरकार सबै एकजुट भएर अघि बढेमा विकास निर्माणले ठूलो फड्को मार्ने नेता पौडेलले बताएका हुन्।
लमजुङ मध्यनेपाल नगरपालिका–३ सूर्यपाल र वडा नंं ४ चर्दीरम्घा जोड्ने चर्दीखोला मोटरेबल पुलको मंगलवार शिलान्यास गर्दै उनले गाउँगाउँबाट रोजगारीका लागि गाउँ छाड्नेक्रम बढेर गाउँघर रित्तिँदै गएकाले गाउँघरमै रोजगारीको सिर्जना गरी गाउँ विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन हुनसक्ने धारणा व्यक्त गरे ।
एमसीसी सुन्ने बित्तिकै विरोध गर्ने जनताले पनि विस्तारै देशको हितमा राम्रो नै रहेछ भनेर बल्ल बुझ्न थालेकाले विरोध गर्न छाडेको वरिष्ठ नेता पौडलले बताए । मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले चर्दी खोलामा हालसम्म पनि मोटरेबल पुल नहुँदा बर्खायाममा सवारी साधन सञ्चालन हुन नसक्दा विभिन्न समस्या रहँदै आएको बताए । नगरपालिकाको आफ्नै लगानीमा अघि बढेको यस पुलले अब ती समस्याको समाधान गर्ने नगरप्रमुख पाण्डेको भनाइ थियो ।
ब्यास मार्गमा पर्ने सो पुल निर्माण हुन लागेपछि स्थानीय हर्षित भएका छन् । डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरी केबीसीप्रसाद जेबी भरतपुर चितवनले निर्माणको जिम्मा लिएको नगरपालिकाका इन्जिनियर उत्तम सुवेदीले बताए ।