काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले ल्याएको नीतिलाई क्रमिक रुपमा कार्यान्वयन गर्ने चरणमा अघि बढेको र त्यसमा सफलता प्राप्त भएको बताएका छन्। हिजो (बुधवार) वडा–२२ को वडा भवन उद्घाटन गर्ने सिलसिलामा उनले यस्तो बताएका हुन्।
‘हामी नीति, कार्यक्रम र बजेटको क्रमिक रुपमा कार्यान्वयन गर्ने चरणमा अघि बढेका छौँ र त्यसमा हामी सफल पनि भएका छौँ,’ प्रमुख शाक्यले भने, ‘कहिँ–कतै विवाद भएका ठाउँमा हामीले गर्न सकेनौँ। जहाँ अख्तियार र अदालतले रोक्ने काम भयो त्यहाँ बाहेक सबै काम सम्पन्न गर्न सफल भयौँ।’
महानगरपालिकाले जीर्ण अवस्थामा रहेका भौतिक संरचनालाई अहिलेको आवश्यकता अनुसार सेवामैत्री बनाउने र जहाँ भवन छैनन् त्यहाँ नयाँ भवन निर्माण गर्ने नीति नै लिएको पनि जानकारी दिए।
उहाँले महानगरपालिकाको नीति अनुसार सबैतिर भवन बनाउन खोज्दाखोज्दै पनि धेरै ठाउँमा बनेको र केही ठाउँमा भने अधुरो रहेको बताए।