काठमाडौं। गुल्मीको चन्द्रकोट गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न सुरु गरेको छ। गाउँपालिकाले करिब सात करोड लागतमा प्रशासकीय भवन निर्माण गर्न सुरु गरेको हो।
उक्त भवन कुल ६ करोड ७९ लाख २९ हजार ६ सय ७६ रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने भएको छ। उक्त भवनको लुम्बिनी प्रदेश सभा सदस्य सुदर्शन बरालले शिलन्यास गरेका छन्। प्रशासकीय भवनको शिलन्यास गर्दै बरालले भौतिक पूर्वाधार र कर्मचारीको अभाव हुँदा पनि स्थानीय तहले महत्वपूर्ण काम गरिरहेको बताए।
“नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भवनको महत्वपूर्ण भूमिका हुन्छ।” लुम्बिनी प्रदेशका पूूर्वमन्त्रीसमेत रहेका बरालले भने, “स्थानीय तहको संरचनाले नागरिकलाई अभिभावक भएको महसुस गराएको छ।” उनले तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशनसमेत दिएका छन्।
गाउँपालिकाको वडा नम्बर ४ शान्तिपुरमा निर्माण हुने प्रशासकीय भवनको स्वच्छन्द–सुसन–लर्डबुद्ध जेभीले निर्माणको जिम्मा पाएको छ। निर्माण व्यवसायीले दुई वर्ष आठ महिनामा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको गाउँपालिकाले जनाएको छ।
चन्द्रकोट गाउँपालिकाले अहिले चन्द्रकोट क्याम्पसबाट प्रशासनिक सेवा प्रवाह गर्दै आएको छ। चारजना स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माणको काम अगाडि बढेको गाउँपालिकाले बताएको छ। स्थानीय नुमकला अर्याल, उत्तम खत्री, डम्बरकुमारी कुँवर र टेकबहादुर गलामीले गाउँपालिका भवन र बहुउद्देश्यीय सभाहलका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन्।