जुम्ला। कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन्। कक्षा कोठा अभावका कारण उनिहरु चौरमा पढ्न बाध्य भएका हुन्।
उक्त विद्यालयमा दुई कोठे तीन वटा भवन छन्। तर‚ यी भवन पर्याप्त छैनन्। भएका भवन समेत जीर्ण भएकाले बस्न सक्ने अवस्था नभएपछि चौरमा पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ।
अर्को भवनमा बर्खाको समयमा कक्षाकोठा भित्र पानी पस्छ। ढोका र पर्खालमा राखिएको सबै काठ कुहिन थालेका छन्। अहिले विद्यालयमा काम लाग्ने भवन एक मात्र छ। त्यो भवनका दुई कोठा छन्। एउटा कोठामा कार्यालय र अर्को कोठा पठनपाठनका लागि प्रयोग गरिएको प्राधानाध्यापकले बताए।
सो विद्यालयमा ३ देखि १२ वर्षसम्मका विद्यार्थी छन्। चौरमा बसेको बेला घामले पोल्ने र वर्षा भएको बेला भिजाउने गरेको विद्यार्थिको गुनासो छ। विहान १० बजेदखि बेलुका ४ बजेसम्म चौरमा धुलो खादै पढ्न पर्ने उनिहरुले बताए।
विद्यालयमा भौतिक व्यवस्थापनका लागि स्थानीय सरकार, कर्णाली प्रदेश सरकार र संघीय सरकारसम्म माग गर्दा पनि सुनुवाइ नभएको विद्यालयले जनाएको छ।