काठमाडौं। भूकम्पबाट घर गुमाएका मेलम्ची १२ गिरान्चौरका ६२ घर धुरीलाई पक्की घर हस्तान्तरण गरिएको छ। राष्ट्रिय पुनःनिमार्ण प्राधिकरण, चौधरी फाउण्डेशन, मेलम्ची नगरपालिका र बस्ती निमार्ण समितिद्वारा सोही स्थानमा निर्मित नम्डोललिङ नमूना एकीकृत बस्ती हिजो समुदायलाई हस्तान्तरण गरिएको हो ।
उक्त भवन हस्तान्तरण समारोहमा फाउण्डेशनका अध्यक्ष विनोध चौधरीले बस्तीसँगै अब आयआर्जन गर्नका लागि यहाँका समुदायले चासो दिनुपर्ने बताए। उनले डिजिटिल शिक्षा, स्वास्थ्य, स्वस्च्छ खानेपानीका लागि पनि फाउण्डेशनले सहयोग गरेकामा आगामी दिन आवश्यक सहयोगसमेत गरिने जानकारी दिए।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भूकम्पले ध्वस्त बनाएको बस्ती पुनःनिमार्णमा सहयोग गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिन थप सहयोगको अपेक्षा गरे। राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणको रु तीन लाख, चौधरी फाउण्डेशनको रु आठ लाख र रु दुई लाख स्थानीयवासीको गरी प्रति घर रु १३ लाखको लागतमा ६२वटा चार कोठे पक्की घर निर्माण गरिएको र ती घरमा शौचालय, खानेपानी, विद्युत्लगायत सुविधा पनि उपलब्ध गराइएको बताइएको छ।
शैक्षिकसँगै आर्थिक क्षेत्रलाई पनि जोड्न र आयआर्जनका लागि स्थानीयवासीलाई सहज गराउन फाउण्डेशनको सहयोगमा गाउँमै रहेको इँट्टा उद्योगलाई व्यवस्थित र थप विस्तार गर्दै लैजाने योजना रहेको बताइएको छ। पानीको समस्यामा रहेका स्थानीयवासीलाई लिफ्टबाट घरघरमा पानी उपलब्ध गराइनाका साथै एकीकृत रुपमा नयाँ पक्की घर पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।