नुवाकोटको विदुर नगरपालिका–६ खम्बाली क्याम्पमा निर्माणभइरहेको केन्द्रीय कारागारको भौतिक संरचना निर्माणको काम ८९ प्रतिशत सकिएको छ। लगभग ४२ करोडको लागतमा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङमार्फत केन्द्रीय कारागारको संरचना निर्माण भइरहेको हो।
अहिलेसम्म २९ करोड निकासा भइसकेको छ। जिल्ला कारागार नुवाकोटका अनुसार दैनिक १ सय ५० भन्दा बढी कामदारले काम गरिरहेका छन्।
जिल्ला कारागार नुवाकोटका अनुसार कारागारमा निर्माण हुने ५ वटा सेक्सन मध्ये एउटा सेक्सनको काम अन्तिम चरणमा पुगेको छ। उक्त सेक्सनमा १३ सय ७० जना कैदीबन्दी अट्ने क्षमता छ। निरन्तर रुपमा अहिलेकै अवस्थामा काम हुने हो भने तिहार लगत्तै ५ सय कैदीबन्दी राखिने छ।
कारागार व्यवस्थापन विभागको नाममा कारागार निर्माणका लागि खम्बाक्याम्पमा रहेको लगभग ५ सय ३४ रोपनी सरकारी जग्गा स्वामित्व हस्तान्तरण भइसकेको छ। उक्त निर्माण कार्य लामा–‘रमण जेबी कन्ट्रक्सन’ मार्फत भइरहेको छ ।
उक्त निर्माणधिन कारागाना ७ हजार कैदीबन्दी अट्ने क्षमताको हुनेछ। जहाँ खेल मैदान, अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवद्र्धन केन्द्र, योगकेन्द्र र किरियापुत्री कक्ष रहने गरी निर्माण कार्य अघि बढिरहेको छ ।