काठमाडौं। पाँचथरको याङवरक गाउँपालिका–५ ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना भएको छ। याङवरक गाउँपालिकाको आठ लाखको लागतमा उक्त केन्द्र स्थापना भएको हो।
दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण आयोजनाअन्तर्गत सो केन्द्र स्थापना भएको छ। शनिबार आयोजित कार्यक्रममा याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले सो केन्द्रको उद्घाटन गरे।
प्रशस्तै दूध उत्पादन हुने यस स्थानमा चिज उत्पादन गरी स्थानीयवासीको दीर्घकालीन आम्दानीको स्रोत बनाउने, पशुपालन तथा दूध उत्पादनमा बढावा दिई रोजगारी सिर्जना गर्ने र गुणस्तरीय चिज विदेशसम्म निर्यात गर्ने उद्देश्यसहित चिज उत्पादन केन्द्र स्थापना भएको हो।
चिजका अतिरिक्त शुद्ध दूधबाट दुग्धजन्य सामग्री उत्पादन गरी याङवरक गाउँपालिकाको पहिचान बनाउन समेत सो केन्द्र सफल हुने आशा गरिएको छ। उत्पादन केन्द्रका लागि गतवर्ष नै दुई तले भवन निर्माण भइसकेको थियो। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष घिमिरेले केन्द्रका लागि पक्की र व्यवस्थित भवन निर्माण आवश्यक रहेको भन्दै त्यसका लागि पहल गर्ने बताए।
उक्त अवसरमा केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, खानेपानीको मुहान उपलब्ध गराउने तथा खानेपानीको प्रबन्ध गर्न सहयोग गर्ने दाताहरूलाई सम्मान समेत गरिएको थियो।