म्याग्दी। नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अहिलेसम्म ३० प्रतिशतमात्र काम सम्पन्न भएको छ। सम्झौताको १२ वर्ष बितिसक्दा पनि राहुघाट जलविद्युत् आयोजना निर्माण कार्य ३० प्रतिशतमा नै सीमित रहेको छ। वि.सं २०६६ मा सो आयोजना भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा निर्माण सुरु भएको थियो ।
आईभीआरसीयल कम्पनीलाई ठेक्का दिएको आयोजनाले वि.सं २०७२ सम्म पनि काम नगरेपछि ठेक्का तोडेर वि.सं २०७३ मा प्राधिकरणले सहायक कम्पनी रघुगंगा हाइड्रो स्थापना गरेर नयाँ प्रक्रियाबाट निर्माणअघि बढाएको थियो। वि.सं २०७४ मंसिरमा ६ अर्बमा लगानीमा भारतको सिभिल ठेकेदार जयप्रकाश एसोसियट् ९जेपी० लाई ४५ महिनामा काम सक्ने गरी ठेक्का सम्झौता गरेको भएता पनि उक्त कम्पनीले पनि म्याद सकिन लाग्दा पनि अपेक्षाकृत रुपमा काम गर्न सकेको छैन।
अहिलेसम्म राहुघाट जलविद्युत् आयोजना पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट र ६५४ मिटर लामो चारवटै अडिट ९मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग निर्माण कार्य मात्र सकिएको छ । त्यस्तैपावरहाउसदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग, बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण सकिएको छ ।
ठेकेदारले पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा निर्माण कार्यमा ढिलासुस्ती भएको आयोजना प्रभावित क्षेत्रका स्थानीयले बताएका छन्।
९पीआरओआर० प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य लम्बिने भएको छ। वर्षातको समयमा जाने पहिरोको कारण पनि यस आयोजना निर्माणमा ढिलाई भएको हो। पहिरोले राहुघाटको विद्युत गृहलाई पनि प्रभाव पारेको छ।