झापा। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ सुविधायुक्त भवन निर्माण सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय अनारमनी छेउमा प्रहरी कार्यालयको भवन निर्माण गरिएको हो।
ट्राफिक प्रहरी कार्यालय सोमबारदेखि नयाँ भवनमा सरेको छ। वर्षौंदेखि साँघुरो भवनमा रहेको झापाको ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि सुविधायुक्त नयाँ भवनमा सरेको हो।
सोमबार प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका छन्। भवन उद्घाटन कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेदेखि ट्राफिक प्रहरीलाई विगतदेखि नै सहयोग गर्ने मानिसहरूलाई सम्मान समेत गरिएको थियो। १ नम्वर प्रदेश सरकारको सहयोगमा भवनको निर्माण भएको हो।
२०७६ साल जेठ ९ गते श्रृङ्खला निर्माण सेवा प्रालि नुवाकोटसँग सम्झौता गर्दै ट्राफिक प्रहरीका लागि भवन निर्माणको काम अघि बढाइएको थियो। एक करोड ८८ लाख ८५ हजार ५७७ रुपैयाँ ९८ पैसाको लागतमा उक्त भवन निर्माण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईंले जानकारी दिए।
भवन निर्माणका लागि १ नम्वर प्रदेश सरकारले एक करोड ८८ लाख रुपैयाँ प्रदान गरेसँगै बिर्तामोड नगरपालिकाले अनारमनी–३ स्थित बिर्ताजबजार उत्तरमा ६ कठ्ठा जमिन उपलब्ध गराएको थियो। तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भवन निर्माणको शिलान्यास गरेका थिए।