दाङ। लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा मिलेमतो भएको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन्। सिईओ घिमिरेले ठेक्का रद्द गरेसँगै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
उनले विज्ञप्ति नै जारी गर्दै अस्पतालको नयाँ भवन निर्माणका लागि फागुन २०७८ मा बसेको प्रदेश पूर्वाधार विकास समितिको बैठकको निर्णयअनुसार ८ फागुनमा ठेक्का आह्वान भएको बताएका छन् ।
शुरुबाटै संकुचित स्पेसिफिकेसन राखिएको आशंका रहेको भन्दै उनले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएको र सार्वजनिक खरिद अनुगमन कार्यालय तथा निर्माण व्यवसायी महासंघबाट समेत ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। तर अन्तिममा २ वटा मात्र कम्पनीले ठेक्का दर्ता गरेको र बोलपत्र दर्ता गर्ने कम्पनीलाई ‘हार्ड कपी’ दर्ता गर्न ३ दिनको समय दिएकोमा एक जना व्यक्ति नै दुवै कम्पनीको फाइल बोकेर कार्यालय आएको उनले बताए।

उक्त कारण पनि मिलेमतोको आशंका पुष्टि भएको घिमिरेले बताएका छन्। उनले ७०० करोडको ठेक्कामा प्रतिस्पर्धा हुँदा र नहुँदा १५० करोडको क्षति हुनसक्ने अनुमानसहित देशप्रति गद्दारी गर्नु भन्दा मान्छे भएर बस्नु उचित ठानेर ठेक्का रद्द गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
घिमिरेले पदबाट राजीनामा दिएको घोषणा गर्दै आफू संलग्न रहेको नेकपा माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट समेत विश्राम लिएको घोषणा गरेका छन् ।