पर्वत। पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन प्रयोगबिहीन भएको छ। दुई करोड लागतमा निर्माण भएको भवनसहित वरपरको जमिन भासिन थालेपछि निर्माण भएको २ वर्षसम्म पनि प्रयोगमा आउन नसकेको हो।
जनशक्ति, बर्थिङ सेन्टर, गर्भवती जाँचलगायत सेवाका लागि आवश्यक उपकरणसमेत उपलब्ध भए पनि भवन प्रयोगविहीन भएको छ।
स्थानीयवासीको विरोध हुँदाहुँदै कमजोर भूबनोटमा निर्मित स्वास्थ्यचौकी भवन आसपासको जमिन भासिएका कारण राज्यको करोडौँ रकम बेकामे भएको छ । खाल्टाथरमा निर्मित भवनसहित जमिन भासिने र पहिराले पुर्न थालेपछि स्वास्थ्यचौकी निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सेवा सुरु हुन सकेको छैन । साढे एक तलाको नौकोठे भवन करिब तीन रोपनीमा बनेको छ। लामो समयदेखि पुरानो र जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्यचौकी तत्कालीन द्वन्द्वकालीन संरचना निर्माणको सूचीमा निर्माण भएको थियो।
नयाँ भवन बनेपछि सेवा–सुविधासमेत थप हुने आशामा बसेका स्थानीयवासी सेवा नपाउँदा निराश छन्। निर्माण सकिने समयमा भवनको बाहिरी बरन्डातर्फको भाग सबै भासिएको थियो। पुनःनिर्माण सम्पन्न भएपछि पनि सेवा सुरु हुने गरी कार्यालय सर्न सकेको छैन । स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएपछि गाउँका सुत्केरीलाई स्वास्थ्य संस्थामै ल्याउने गरी जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गर्न सकिन्थ्यो ।
तर अहिले भइरहेको साँघुरो छाप्रोमा उपलब्ध उपकरण जडान गरेर सेवा दिन सक्ने अवस्था नरहेकाले त्यसै थन्क्याउनुपरेको स्वास्थ्यचौकीका इन्चार्ज शान्त अधिकारी बताउँछन् ।