सर्लाही । जिल्लाको मलङ्गवा नगरपालिका–४ मा निर्माणाधीन ज्येष्ठ नागरिक आवास गृह अलपत्र परेको छ । सङ्घीय सरकारको रु एक करोड २५ लाखको लागत अनुमानमा निर्माण सुरु भएको आवास गृह बजेट अभाव, कोरोना महामारी र वर्षाको बाहना बनाउँदै निर्माण कार्य बीचैमा छोडेर निर्माण व्यवसायी सम्पर्कबिहीन भएपछि अलपत्र परेको हो ।
सङ्घीय सरकारको लगानीमा सहरी विकास तथा भवन कार्यालय जनकपुरको निगरानीमा रुपा कन्सट्रक्सन प्रालि जनकपुरले निर्माणका लागि ठेक्का लिएको थियो ।
बजेट अभावका कारण निर्माण कार्यमा समस्या भएको थियो । समस्या भएपछि नगरपालिकाले पहल गरेर ४०÷४५ लाख बजेट व्यवस्था गरेको र बजेट व्यवस्थापनका लागि पहल भइरहेको मलङ्गवा नगरपालिका–४ का वडाध्यक्ष रवीन्द्र रायले बताए ।
असार मसान्तसम्ममा काम सक्नुपर्ने भनी ठेक्का लिएको भए पनि सङ्घीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरेका कारण सो गृहको निर्माण कार्य सम्पन्न नभएको सहरी विकास तथा भवन कार्यालय जनकपुरका डि.इं विनोदकुमार यादवले बताए ।