काठमाडौं। बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा सिम्रौनगढ अस्पताल निर्माण हुने भएको छ। नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माण हुने भएको हो।
गाउँमा नै गुणस्तरीय स्वास्थय सेवा प्रदान गर्ने उद्धेश्यले सो अस्पताल भवन निर्माण गर्न लागिएको हो। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीयहरुलाई लक्षित गरी नगरपालिकामा नै अस्पताल निर्माण गर्न लागिएको छ। अस्पतालको अभावमा समयमा नै उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको दर्दानक घटनालाई अन्त्य गर्ने नगरपालिकाको लक्ष्य रहेको छ। यसका साथै गरिब र विपन्न वर्गले पनि स्वास्थ्य सुविधा उपभोग गर्न पाउँने गरी स्थानीय स्तरमा नै अस्पताल भवन निर्माणको योजना ल्याइएको नगरपालिकाले जनाएको छ।
उक्त अस्पताल निर्माणको जिम्मा एम/एस रसुवा–बानीया–हनुमान जेभी हेटौँडाले पाएको छ। भ्याट बाहेक १८ करोड ९४ लाख ८८ हजार एक सय ९९ सय रुपैँयामा सो निर्माण कम्पनीले कबोल गरेको छ। हाल ठेक्का सम्झौताको प्रकृयामा रहेको र ठेक्का सम्झौता पकृया पुरा हुने लगत्तै अस्पताल भवन निर्माण कार्यलाई अघि बढाईने निर्माण कम्पनीले जनाएको छ। गाउँमै गुणस्तरीय सेवा उपभोग गर्न पाउने भएसँगै स्थानीय पनी खुसि भएका छन्। तोकिएको समयअवधिमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले बताएको छ।