सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पैदल र सवारीहरूको प्रतीक्षामा बस्ने नागरिकहरूका लागि विश्रामस्थल निर्माण गरिएको छ। लामो तथा छोटो दुरीको यात्रामा निस्कने यात्रुहरू र पैदलयात्रीका लागि विश्राम गर्न सहज होस भन्ने हेतुले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न ठाउँमा विश्रामस्थल निर्माण गरिएको हो।
वीरेन्द्रनगर नगरपालिकाको आवश्यकताका आधारमा नगरका २० ठाउँमा विश्रामस्थल निर्माण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिका र युएसएआडी तयार नेपालको आर्थिक सहयोग तथा अन्तर निर्भर समाजको समन्वयमा वीरेन्द्रनगर–६, ७ र ८ मा विश्रामस्थल निर्माण पश्चात् सञ्चालनरत छन्।
सफा र सुन्दर नगर बनाउने उद्देश्यले नगरपालिकाको आग्रहमा अन्तरनिर्भर समाजले नगरका एकसय ठाउँहरूमा तीन सय फोहोर राख्ने प्लास्टिकका बाल्टिन राख्न लागेको छ। हरित नगर बनाउन नगरपालिकाको सहयोगमा वीरेन्द्रनगर तीन वडामा फुल फुल्ने र फल लाग्ने एक हजार प्रजातिका बिरुवाहरू पनि रोप्ने गृहकार्य भएको बताइएको छ।