मोरङ। मोरङको विराटनगरमा ५० करोड लागतमा रिसाइकल उद्योग सञ्चालनमा ल्याइएको छ। कबाडी प्लास्टिक र पुराना लिड ब्याट्रीको रिसाइकल गरेर प्लास्टिक दाना र लिड बनाउन ५० करोड लगानी गरेर उद्योग सञ्चालनमा ल्याइएको हो।
विराटनगरका उद्यमी दिवाकर राठीले जेमिनी रिसाइकल इन्डस्ट्रिज नामक उद्योग सञ्चालनमा ल्याएका हुन् ।चैतको पहिलो सातादेखि जेमिनीले व्यावसायिक उत्पादन सुरु गरेको छ । जेमिनी पूर्व क्षेत्रमै ठूलो परिमाणमा प्लास्टिक र लिड ब्याट्री रिसाइकल गर्ने पहिलो उद्योग बनेको छ ।
मोरङको बुढीगङ्गा गाउँपालिका–५ हात्तीमुढामा ३ बिघा जमिनमा रहेको उद्योगमा प्लास्टिकका पुराना सामानबाट पीपी र पीई दुबै प्रकारका दानाको उत्पादन गरिन्छ । फुल अटोमेटिक मेसिन भएको उद्योगमा कामदार र कर्मचारी गरी ३५ जना कार्यरत छन् ।
उद्यमी दिवाकरका अनुसार यी दानाको प्रयोगबाट प्लास्टिकका सबैजसो मालवस्तु उत्पादन गर्न सकिन्छ । साथै दानालाई भारत निर्यात गर्न पनि सकिन्छ ।
यसरी रिसाइकल गरिएको दानाबाट खाद्य र पेय वस्तु राख्ने सामान बनाउन मिल्दैन । तर यी दानाबाट अन्य मालसामान र फोहर राख्ने गार्भेज ब्याग, इलेक्ट्रिकल वायरिङमा काम लाग्ने पाइप, टेबुल–कुर्सी लगायतका प्लास्टिक फर्निचर, सवारी साधनमा प्रयोग गरिने प्लास्टिकका सामग्री लगायतका वस्तु उत्पादन गर्न सकिन्छ । त्यस्तै रिसाइकल गरेर निकालिएको लिडबाट पुनः लिट ब्याट्री उत्पादन गरिन्छ ।
दिवाकरले उद्योगले दैनिक १५ टन पुराना प्लास्टिक रिसाइकल गरेर दाना उत्पादन गर्नसक्ने जानकारी दिए ।