हुम्ला। नाम्खा गाउँपालिकाको लिमीमा सुविधा सम्पन्न प्रसूति गृहसहितको स्वास्थ्य चौकी सञ्चालनमा आएको छ। उक्त स्वास्थ्य चौकीको स्थापना सँगै लिमीका तिन गाउँका स्थानीयलाई उपचारमा सहज भएको छ।
नयाँ र आधुनिक सुविधासम्पन्न प्रसूति गृहसहितको स्वस्थ्यचौकी निर्माण भइ सञ्चालनमा आउदा लिमिका उपचारबाट बन्चित स्थानीयलाई सहज भएको बडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो। उहाँका अनुसार पुरानो स्वास्थ्य चौकी जीर्ण हुँदै गएकोर उपचारमा असहज भएपछि स्थानियकै मागमा स्वास्थ्य चौकी निर्माण गरिएको हो।
दुर्गम स्थानमा सुविधासम्पन्न स्वास्थ्य चौकीको निर्माण हुनु लिमीका बासिन्दाका लागी गौरवको कुरा रहेको बताउदै अध्यक्ष तामाङले उक्त चौकीको निर्माण पछि यस स्थानका गर्भवती महिलाले प्रसुती गृहमा सुत्केरी हुन पाउने जानकारी पनि दिनु भयो।
तीन कोठाको स्वस्थ्य चौकी भवनमा एउटा कोठा भने प्रसूति सेवाका लागी व्यवस्था गरिएको छ। जसले गर्दा गर्भवती महिलाले अकालमा ज्यान गुमाउन पर्दैन। भवनमा रहेका तिन वटै कोठामा तातो पानी आउने व्यवस्था रहेको छ। जसले गर्दा जाडोको समयमा बिरामीलाइ सहज हुने आशा राखिएको छ।
७१ लाखको लगानीमा उक्त भवनको निर्माण भएको हो। यस स्वास्थ्य चौकीमा काम गर्नको लागी गाउँपालिकाले तीन जना स्वास्थ्यकमकर्मीको व्यवस्था गरिदिएको छ। विगतमा सुविधा सम्पन्न उपचारको लागी टाढाँ जानुपर्ने जसले गर्दा खर्च समेत बढी हुने गरेकोले समस्यामा परेका स्थानीयले आफुहरुले गरेको माग पुरा भएकोमा खुसी व्यक्त गरे।