जाजरकोट। सबै वडामा वडा कार्यालय निर्माण गरी सेवा प्रवाह सरल बनाएको नलगाड नगरपालिकाले हिजोदेखि प्रशासकीय केन्द्र दल्लीमा आफ्नै भवन निर्माण गरेको छ। १३ वटा वडामा भवन निर्माण गरिसकेको पालिकाले हिजोदेखि नगरपालिकाबाट दिने सेवा आफ्नै भवनबाट दिन सुरु गरेको हो।
करिब ४ करोड लगानीमा निर्माण गरिएको उक्त भवनका ३५ वटा कोठा रहेका छन्। एउटै भवनबाट सबै शाखाको काम हुने भएको नगरपालिकाले जनाएको छ। नगरपालिका भित्रका सबै कार्यालय अब भाडामुक्त भएको बताइएको छ। उक्त भवनको पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन्।
त्यस्तै १५ शैय्याको नगर अस्पतालको भवनको पनि निर्माण कार्य जारी रहेको बताइएको छ। अधिकांश ठाउँमा वडा स्तरसम्मै स्वास्थ्य संस्थाको भवन निर्माण गरिसकेको नलगाडले अब नगर अस्पताल समेत निर्माणको काम जारी राखेको छ। त्यस्तै १३ वटा वडामा समेत सडकको ट्रयाक ओपन भइसकेको छ।
भेरी करिडोरअन्तर्गत पर्ने यस पालिकाभित्रबाट जाजरकोट–डोल्पा सडक पर्छ। नलगाड जलविद्युत् आयोजना (७१७ मेगावाट) र ताँसुगाड जलविद्युत् आयोजना (७ मेगावाट) को समेत यही पालिकाभित्र पर्छन्।