काठमाडौं। बैतडी जिल्लाको दुर्गम तल्लोस्वराडका दुई गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन्। पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन्।
दई वटै गाउँपालिका चार वर्षदेखि भाडामा काम गर्दै आएका थिए। भवन निर्माण पश्चात अब आफ्नै भवनबाट सहज रुपमा सेवा प्रदान गर्ने भएका छन्।
पञ्चेश्वर गाउँपालिकाको १६ कोठे भवन महादेव कन्सट्रक्शनले करिब रु दुई करोडको लागतमा निर्माण गरेको हो। शिवनाथको पनि सोही परिमाणको लागतमा भवन निर्माण गरिएको हो। आर्थिक वर्ष २०७५/७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरिएको थियो। विसं २०७६ मा ठेक्कामार्फत भवन निर्माण सुरु गरिएको हो।
स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको आफ्नो भवन नहुँदा समस्या भइरहेकामा अब त्यो समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ। भवन निर्माण गरी सञ्चालनमा आएपछि सेवाप्रवाहमा सहजता आएको शिवनाथ गाउँपालिकाले जनाएको छ।